आगामी असारका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
काठमाडौं । जेठ ३२, वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् ।
सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
अधिक तरलता भएर राष्ट्र बैंकले निरन्तर तरलता खिच्नुपर्ने अवस्थामा बैंकहरूले कोषका लागि घटाउने लामो अवधिको मुद्दती निक्षेप लक्षित गर्दै सोही अनुसार निक्षेप ‘प्रडक्ट’ अगाडि सारेका छन् ।
लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । कोषको लागत घट्दा आधार दर घटेर कर्जाको ब्याजदर घट्दा ऋणीलाई राहत हुन्छ ।
त्यस्तै बैंकहरूले लगानी गर्न नसकेको तरलताको समेत लागत घट्न जान्छ । कर्जाको माग तत्काल नबढ्ने अवस्था र धेरै बैंकहरूण्को पूँजीकोषमा देखिएको दबाबले ‘एग्रेसिभ’ कर्जा विस्तार गर्ने अवस्था नहुँदा ब्याजदर घटाएको एक बैंकरले बताए ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।