गाँजा खेतीको वैधानिकताबारे मकवानपुरमा बहस सुरु
काठमाडौं । असार २, मकवानपुरको ग्रामीण क्षेत्रमा गाँजा खेतीको वैधानिकताबारे सुरु भएको छ ।
चालु र आगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीको व्यावसायिक खेतीबारे उल्लेख भएको र २५ जेठमा समेत प्रतिनिधि सभाको कृषि समितिमा गाँजा खेतीबारे छलफल भएको थियो ।
गाँजा खेतीबारेको छलफलमा सरकार र सदन दुवै सकारात्मक देखिएपछि मकवानपुरका ग्रामीण क्षेत्रका जनप्रतिनिधि, विज्ञ र अभियान्ताहरूले पनि यसबारेमा बहस नै थालेका हुन् ।
मकवानपुरका राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकाका अध्यक्षसहित प्रतिनिधि र अभियन्ताहरूले गाँजा खेतीको वैधानिकताका लागि माग गर्दै मनहरी पिस पार्कमा बहस सञ्चालन गरेका हुन् ।
गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन गरिरहेका युवा अभियन्ता राजेश भेटवालको संयोजकत्वमा भएको छलफलमा गाँजा बोक्दा जेल जीवन बिताइरहेका भरियाका परिवारहरूले दुखेसो व्यक्त गरेका थिए ।
उनीहरुले भूगोल अनुसार अन्य बाली लगाउँदा बाँदर, बँदेल लगायत वन्यजन्तुले नष्ट गरिदिने भन्दै गाँजा खेती उपयुक्त हुने भएपनि राज्यको कारण गाउँका अधिकांश युवा जेल जानु परेको बताएका थिए ।
मनहरी गाउँपालिकाका प्रमुख रञ्जन कालाखेती गाँजा खेतीको वैधानिकताका लागि स्थानीय तहबाट हुनसक्ने सबै प्रयास गरिए पनि संसद र सरकारको हातमा रहेको बताएका थिए ।
मकवानपुरमा सबैभन्दा धेरै गाँजा खेती हुने र ओसारपसार हुने क्षेत्रमा कार्यक्रम राखेर राज्यलाई वैधानिकताका लागि दबाब दिएको उनले बताए ।
भेलामा वनविज्ञान विद्यार्थी साधना पौडेल र डा. भोला भट्टराईले गाँजा खेती र वैज्ञानिक पक्षको विषयमा जानकारी दिएका थिए ।