आगामी दिनमा फिल्डिङ र ब्याटिङमा सुधार्छौं : कप्तान पौडेल
काठमाडौं । असार ६, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् ।
बिहीवार टि २० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । टिममा आत्मविश्वास भएपनि मैदानको स्थितिले जित हात पार्न नसकिएको बताए ।
उनले भने, ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा । तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन ।’
उनले अमेरिका र वेस्टइण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए ।
उनले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताए । उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता जनाए ।
उनले भने, ‘हामीले बेस्ट १५ खेलाडी लिएर गएका थियौँ । ब्याट्सम्यानलाई च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन ।
बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ।’