बाजुरामा नुनको अभाव भएपछि हप्तामा एकदिन मात्र वितरण
काठमाडौं । असार ९, बाजुरामा आयोडिनयुक्त नुनको अभाव भएको छ । नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ ।
जसले गर्दा बाजुराबासीलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्कनुपर्ने अवस्था छ । भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन बिक्री गरिरहेको छ ।
कोटा कम हुँदा, वर्षात्को समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन् । बाजुरामा गत चैतदेखि नै नुन अभाव छ ।
भारतको सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ढुवानी अनुदानमा बाजुरामा नुन बिक्री वितरण हुने गरेको छ । बाजुरामा चारवटा नुनको डिपो र चार वटा बिक्री केन्द्र छन् ।
ढुवानी अनुदानको नुन प्रतिकेजी ९ रुपैयाँमा बिक्री हुने गरेको छ । सरकारले बाजुराको मार्तडी, कोल्टी, मौरे र कवाडी डिपोमा आवश्यकताभन्दा कम नुन दिने गरेको कर्मचारीहरू बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ मा बाजुरा जिल्लाभर १६ हजार ८५२ क्विन्टल नुनको कोटा रहेको छ ।
यो कोटा बाजुराका लागि अपर्याप्त रहेको बोहोरोले बताए । आफूहरूले बाजुरामा नुनको कोटा अपुग भएको भन्दै सरकारलाई लिखित जानकारी दिएको पनि उनले बताए ।