बर्खाकै बेला काठमाडौं उपत्यकामा खानेपानी अभाव पुनः दोहोरिने

काठमाडौं । असार ९, बाढीको जोखिम न्यूनीकरण गर्न मेलम्ची खानेपानी आयोजनाको बाँध बन्द गर्ने तयारी गरिएसँगै बर्खाकै बेला काठमाडौं उपत्यकामा खानेपानी अभाव पुनः दोहोरिने भएको छ ।
मेलम्चीको बाँधस्थलमा स्थायी हेडवर्क्स नहुँदा खेलामा पानी धमिलो हुनेबित्तिकै बन्द गर्नुपर्ने आयोजनाले जनाएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी बन्द भएसँगै पुनः ट्यांकरको भर पर्नुपर्ने डरमा स्थानीय छन् ।
जमिनमुनिको पानी, ढुङ्गेधारा, पोखरी, इनार सुक्दै गइरहेकाले खानेपानीको अभाव थप बढिरहेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले बताए ।
बोर्डका अनुसार उपत्यकामा रहेका ८३७ ढुङ्गे धारामध्ये ११७ लोप भइसकेका छन् । सञ्चालनमा रहेका ७२० मध्ये ३२० सुकिसकेका छन् ।
मेलम्चीको पानी नआउने, भएका स्थानीय स्रोतहरू सुक्ने हुँदा उपत्यकावासी फेरि ट्यांकरको पानी किनेर खानुपर्ने स्थितिमा पुगेका हुन् ।