गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सांसदको माग

सहयात्रा टिभी

काठमाडौं । असार १४, नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरूमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताउनुभयो ।

उहाँले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तीर्ण भएको भन्दै गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष रूपले व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

हिजो प्रकाशित एसईईको नतिजाअनुसार गणित, विज्ञान र अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी ननग्रेडिङ मा परेका छन् ।

परीक्षा दिएकामध्ये गणितमा ३८ प्रतिशत, विज्ञानमा २७ प्रतिशत र अङ्ग्रेजीमा २१ प्रतिशत विद्यार्थी ननग्रेड मा परेका हुन् । गएको वर्ष पनि गणितमा झन्डै ४१ प्रतिशत विद्यार्थीले सबैभन्दा कमजोर डी र ई ग्रेड ल्याएका थिए ।

सधैँका परीक्षामा गणितपछि विज्ञान र अङ्ग्रेजीमा कमजोर ग्रेड प्राप्त गर्ने क्रम चलिरहेको भए पनि सुधार्नका लागि शिक्षा मन्त्रालयलगायत सरकारका कुनै पनि निकायले स्पष्ट योजना ल्याएको देखिँदैन ।

२०७५ सालमा सरकारले नै गरेको सर्वेक्षणमा ७१ प्रतिशत माध्यमिक विद्यालयमा मात्रै गणित, विज्ञान र अङ्ग्रेजी विषयका विषयगत शिक्षकको दरबन्दी रहेको पाइएको थियो । तर छ वर्षसम्म सरकारले एउटै शिक्षक दरबन्दी थप गर्न सकेको छैन ।

यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी नभई सरकार फेल भएको आरोप लगाउनुभएको छ ।

 

 

प्रकाशित : 28 June, 2024

प्रतिक्रिया दिनुहोस्