ऐतिहासिक जितका साथ १४ वर्षपछि किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री
काठमाडौँ । असार २१, बेलायतमा लेबर पार्टी ऐतिहासिक जितका साथ १४ वर्षपछि सत्तामा फर्किने भएको छ ।
आम चुनावमा लेबरले अहिलेसम्म ३९५ सिट जितिसकेको छ, जुन बहुमतभन्दा बढी हो । नराम्रो हार व्यहारेको कन्जरभेटिभ पार्टीले भने १०४ सिट मात्र जितेको छ ।
६५० सदस्यीय संसदमा सरकार बनाउन ३२६ सिट जित्नुपर्छ । योभन्दा बढी सिट जितिसकेको लेबर पार्टी २०१० पछि सत्तामा फर्किने पक्का भयो । यदि लेबरले ४१० सिट जिते सन् १९९७ मा टोनी ब्लेयरको समयपछि लेबरको सबभन्दा ठूलो जित हुनेछ ।
बेलायतमा राजाले सबभन्दा धेरै सिट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री हुनेछन् ।
उनी अफूलाई वर्किङ क्लासको पृष्ठभूमिबाट आएको बताउँछन् । उनका बुवा एक टूलमेकर थिए भने आमा नर्स । अक्सफोर्ड विश्वविद्यालयबाट कानुन पढेका स्टार्मरले मानवअधिकार कानुनमा विशेषज्ञता हासिल गरेका छन् ।
उनले अफ्रिकामा गएर मृत्युदण्डको सामना गरिरहेका कैदीहरुको मुद्दा लडेका थिए । ९० को दशमा उनले तथाकथित म्याक्लिबेल कार्यकर्ताको मुद्दा निःशुल्क लडेका थिए ।