राप्रपाद्धारा क्यान्टोनमेन्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती

सहयात्रा टिभी

काठमाडौँ । असार २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्यान्टोनमेन्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टोनमेन्ट घोटालाको फाइल खोल्न चुनौती दिएका हुन् ।

उनले भने, ‘गृहमन्त्रीज्यूलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टोनमेन्ट घोटालामा कसको नाम छ रोष्टममा आएर बताउनुस् । हामी तपाईलाई समर्थन गर्छौं ।’

उनले जीबी राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे । अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले यो बीचमा भ्रष्टाचारको फाइलहरु खोलेमा आफूहरुको साथ र समर्थन रहने बताए ।

उनले सुकुम्वासीहरुलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृहमन्त्रीलाई पटक-पटक आग्रह गरे पनि प्रहरी नपठाएको बताए । उनले गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको बताए ।

उनले भने, ‘ काठमाडौं महानगरपालिकाले कतिपटक पत्र काट्यो होला हुकुमबासीलाई (सुकुम्वासीलाई) हटाऔं भन्दाखेरि हाम्रो गृहमन्त्रीज्यू एउटा प्रहरी दिन पनि सक्नुहुन्न । अनि संसदमा आएर ठूलो कुरा ? ‘

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने बताए ।

उनले भने, ‘ संविधान संशोधन गरौं । संविधानलाई परिवर्तन गरौं । संविधान गीता, कुरान, बाइबल होइन । देशको हितमा छ भने संशोधन गरेर अगाडि बढाऔं। हितमा छैन भने बुँदाहरु कटौती गरौं।’

 

 

प्रकाशित : 7 July, 2024

प्रतिक्रिया दिनुहोस्