काठमाडौं महानगरको क्यान्टिनलाई कारबाही

सहयात्रा टिभी

काठमाडौं । असार २६, काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयको चमेना गृह (क्यान्टिन) लाई कारबाही गरेको छ ।

काठमाडौं प्लाजामा रहेको नारायणी चमेना गृहमा बासी खाना बेच्ने गरेको र खाजामा खाद्य स्वच्छता कायम नगरेको भन्दै बुधबार २ लाख रुपैयाँ जरिबाना गरेको हो ।

महानगर अनुगमन निरीक्षण अधिकृत नुरनिधि न्यौपानेका अनुसार उपभोक्ताबाट धेरै गुनासो आएपछि खाद्य प्राविधिक सहित टोलीले पटक–पटक लिखित निर्देशन दिँदा पनि सुधार नभएपछि जरिबाना गरेको हो ।

‘सोमबार अनुगमन गर्दा क्यान्टिनका कर्मचारीले लगाएको एप्रोन गन्हाउने, फोहोर उस्तै, फ्रिजमा तापक्रम समेत मिलेको थिएन,’ न्यौपानेले भने, ‘फेरि, मंगलबार पनि गएर सुधार गर्न भन्यौं, तर भएन । आज बुधबार जाँदा पनि उस्तै रहेछ । त्यही भएर जरिवाना तिराएका हौं ।’

महानगरका एक कर्मचारीले आफ्नै क्यान्टिन हुँदा पनि बाहिर खाजा खान जानुपर्ने स्थिति आएको बताए । ‘त्यही भएर महानगरलाई गुनासो गरेका थियौं । तर, क्यान्टिन चलाउनेले अटेर गरेपछि कारबाही भएको हो,’ उनले भने ।

काठमाडौं प्लाजाको सबैभन्दा माथिल्लो तल्लामा रहेको नारायणी क्यान्टिनलाई यसअघि २० फागुन २०८० मा पनि ५० हजार जरिबाना गरिएको थियो ।

 

 

प्रकाशित : 10 July, 2024

प्रतिक्रिया दिनुहोस्