कलाकार र निर्माताको रूपमा डेब्यू गर्दै हरिबहादुर
काठमाडौं । साउन ९, व्यापारी पृष्ठभूमिका हरिबहादुर थापा यही साउन ११ गते शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’ मार्फत कलाकार तथा निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन् । फिल्ममा उनले विद्यालयको प्रधानाध्यापकको भूमिकामा पनि अभिनय गरेका छन् ।
हरिका अनुसार फिल्ममा काम गर्ने उनको इच्छा धेरै अघिदेखिको हो । त्यो इच्छा भने अहिले आएर ‘ईश्वर’मार्फत पुरा गरेका छन् । ‘ईश्वरको कथाले मलाई तान्यो । यो सामाजिक कथामा आधारित फिल्म हो । यसमा अन्तरजातीय विवाह, देशमा भएको विसंगति विकृति, राजनीतिका कुरा देखाइएको छ । फिल्मले जातीय विभेद नगरौं भन्ने सन्देश दिएको छ’, फिल्मबारे हरि भन्छन् ।
उनका अनुसार फिल्ममा आर्यन केटा पात्र र मंगोलियन केटी पात्रबीचको प्रेम देखाइएको छ । ‘गुरुङ समुदायमा रहेको मामा र फुपुको छोराछोरीको प्रेम फिल्ममा छ । दर्शकहरुले सामाजिक सन्देश पनि पाउनु हुनेछ’, उनले भने । फिल्ममा पहिलो पटक लगानी गर्दा हरिलाई उनकै भनाई गाह्रो अनुभव छैन । ‘फिल्म निर्माण गर्नु सोचे जस्तो त पक्कै होईन । तर ईश्वरको हकमा भने मलाई गाह्रो भएन । निर्देशक, कलाकार र प्राविधिकको राम्रो सहयोग पाएँ । अहिले प्रमोसनमा पनि उत्तिकै साथ पाइरहेको छु’, उनी भन्छन् ।
हरि फिल्म हेरिरहँदा दर्शकले आफूलाई ‘कनेक्ट’ गर्ने दाबी गर्छन् । ‘नितान्त नेपाली परिवेशमा फिल्म बनाएका छौं । हामी नेपाली भएर बुझ्नु पर्ने कुराहरु फिल्ममा छ । त्यसकारणले पनि दर्शकले आफूलाई फिल्ममा पाउनुहुनेछ’, उनी भन्छन् । ‘ईश्वर’बाट आफ्नो लगानी उठ्नेमा हरि ढुक्क छन् । ‘लगानी नउठ्ला भन्ने डर छैन । किनभने फिल्म, कथा, कन्टेन्ट, कलाकार सबै राम्रा छन् । दिग्गज कलाकारको अभिनयले फिल्मको हाइप बढेको छ’, उनको दाबी छ ।
फिल्ममा प्रेम, एक्सनदेखि फिल्मलाई चाहिने सबै कुरा जोडिएकाले फिल्म दर्शकले मनपराउनेमा उनी आशावादी छन् । ‘भोलिका दिनमा ईश्वरले राम्रो परिणाम ल्यायो भने फिल्ममा लगानीको निरन्तरता दिनेछु’, उनी भन्छन् । फिल्म ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।