नेपाल कर्मस क्याम्पसका प्राध्यापक विष्ट हत्याका आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । साउन १६, नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा थप केही व्यक्ति पक्राउ परेका छन् ।
प्राध्यापक विष्ट हत्याको १७ वर्षपछि हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्ट हत्याका आरोपी पक्राउ गरेको हो ।
विष्ट हत्यामा संलग्न भएको आरोपमा तीन जना फरार रहेको बताइए पनि अहिले कतिजनालाई पक्राउ गरिएको भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यसबारे पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले बताएको छ ।
यसअघि हत्यमा संलग्न भएको आरोपमा ६ चैत २०८० मा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
त्यतिबेला धादिङ गंगाजमुना गाउँपालिका-७ घर भई ललितपुर ढोलाहिटी बस्ने ४१ वर्षकी सविता थापा अधिकारी भनिने सोभिता थापा पक्राउ परेकी थिइन् ।
थापालाई ढोलाहिटीस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । १६ वर्षसम्म सोभिता ललितपुरस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् । उनका श्रीमान् भने भारतीय सेनामा कार्यरत छन् ।
२६ असार २०६४ मा ललितपुर महानगरपालिका-२२ शंखमुलमा एक पुरुष बेहोस अवस्थामा भेटिएका थिए ।
शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक ललितपुर इमाडोल घर भएका र नेपाल कमर्स क्याम्पसमा पढाउने ३३ वर्षीय धर्मराज विष्ट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।