अन्तरिक्षमा छाता बनाउने इजरायली वैज्ञानिकको अनौठो उपाय
काठमाडौँ। साउन १८, जलवायु परिवर्तन तथा उष्णीकरण वर्तमान विश्वको ज्वलन्त समस्याको रुपमा रहेको छ ।
यो विश्वव्यापी चुनौतीको सामना गर्नका लागि इजरायली वैज्ञानिकले एउटा अनौठो उपाय पत्ता लगाएका छन् ।
वैज्ञानिक प्राध्यापक योरम रोजेनले एउटा अन्तरिक्ष छाताको नमूना (प्रोटोटाइप) विकसित गर्नका लागि डेढ करोड डलर लगानी जुटाउँदै छन् ।
सो अत्याधुनिक परियोजनाको लक्ष्य भनेको ठूलो परिमाणमा उक्त अन्तरिक्ष छाताका माध्यमबाट पृथ्वीमा छहारी प्रदान गरी जलवायु परिवर्तनको प्रभाव कम गर्नु हो ।
इजरायल इन्स्टिच्युट अफ टेक्नोलोजीको एसर स्पेस रिसर्च इन्स्टिच्युटका शोधकर्ता रोजेनले पृथ्वीभन्दा १५ लाख किलोमिटरको दूरीमा अन्तरिक्षमा २५ लाख टन वजनको छाता स्थापित गर्ने कल्पना गरेका छन् ।
उक्त छातालाई यस्तो प्रकारले डिजाइन गरिनेछ कि त्यसले सूर्यबाट आउने विकिरणमध्ये २ प्रतिशतलाई रोक्नेछ र पृथ्वीलाई छहारी प्रदान गर्नेछ ।
यो छाताको छहारीले १२ देखि १८ महिनाभित्रमा विश्वको तापमानलाई १.५ डिग्री सेल्सियससम्म कम गर्ने अनुमान वैज्ञानिकको छ ।
स्मरण रहोस् औद्योगिक क्रान्तिको समय भन्दा अगाडिसम्म सूर्यको तर्फबाट पृथ्वीलाई तताउने र पृथ्वीबाट उक्त अधिक तापमानलाई अन्तरिक्षमा परावर्तन गर्ने प्रक्रियाको बीचमा सन्तुलित अवस्था कायम थियो ।
तर औद्योगिक क्रान्ति पश्चात् मानवीय क्रियाकलापबाट हरितगृह ग्याँसको उत्सर्जन अत्यधिक बढ्दा पृथ्वीको आफैंलाई शीतल राख्ने क्षमतामा ह्रास आएको छ र तापमान वृद्धि भैरहेको छ ।
प्राध्यापक योरम रोजेन र उनको टिमले एउटा यस्तो भीमकाय छाताको कल्पना गरेको छ जसले पृथ्वी तात्ने गतिलाई कम गर्नेछ ।
यो अवधारणामा एउटा परावर्तक तथा अपारदर्शी छातालाई एक स्थिर कक्षमा स्थापित गरिनेछ । यो सूर्यको परिक्रमाका क्रममा पृथ्वीसँगै घुम्नेछ । यो छाता पातलो तथा परावर्तक सामग्रीबाट बनेको हुनेछ र यसको स्थानका उद्देश्य गुरुत्वाकर्षण तथा सौर्य हावाको प्रभावलाई कम गर्नु हुनेछ ।
यो परियोजनामा भविष्यमा ठूलो आकारको छाता तयार गर्ने महत्वाकांक्षी योजना रहेको भए पनि सुरुवाती लक्ष्य चाहिं ब्ल्याकबोर्ड आकारको एउटा प्रोटोटाइप बनाएर परीक्षण गर्नु रहेको रोजेनले बताएका छन् ।
यो परियोजना पूर्णरुपमा सम्पन्न गर्न ३० ट्रिलियन डलरसम्म खर्च लाग्ने बताइएको छ ।