काठमाडौंमा खुकुरी प्रहार भएको १० दिन बित्दा पनि अभियुक्तको पहिचान हुन सकेन
सहयात्रा टिभी
काठमाडौँ । असार १५, काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउनप्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको १० दिन बित्दा पनि प्रहरीले अभियुक्तको पहिचानसम्म गर्न सकेको छैन ।

४ असारको संसाँझै सडकमै पश्चिम रुकुमको बाफिकोट गाउँपालिका–४ घर भइ काठमाडौं छाउनी बस्ने २२ वर्षीय टोपजंग वलीमाथि खुकुरी आक्रमण भएको थियो ।
टाउको र पाखुरामा खुकुरी आक्रमण हुँदा उनी गम्भीर घाइते भएका थिए । नम्बर नखुलेको मोटरसाइकलमा आएका एक पुरुषले वलीमाथि आक्रमण गरेका थिए । सो क्रममा टाउकाको बाँया भाग पाखुरामा गम्भीर चोट लागेको थियो ।
आक्रमणबाट भुइँमै ढलेर उनी छटपटाएका थिए । त्यसपछि स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । उनको अहिले पनि ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।
टाउकोमा रगत जमेको भन्दै उनको अपरेशन समेत भएको थियो । प्रहरीले अहिलेसम्म उक्त आक्रमण कसले, के उदेश्यले गर्यो भन्ने केही पत्तो लगाउन सकेको छैन ।
यता पीडितका आफन्तले भने प्रहरीले घटनालाई गम्भीर रुपमा नलिएको गुनासो गर्दै आएका छन् ।
‘आक्रमणकारीले मर्यो भनेरै फालेको थियो । धारिलो हतियारले अन्धाधुन्दा आक्रमण गरेर फरार भयो । तर १० दिन बित्दा पनि अभियुक्तलाई पहिचान गरी प्रहरीले पक्राउ गरेको छैन,’ पीडित आफन्त भन्छन् ।
अहिलेसम्मको अनुसन्धानअनुसार मोटरसाइकल खरिद गर्न भन्दै २ असारमा सम्पर्क गरेकोसम्म पत्ता लागेको छ । त्यो भन्दा बढी प्रगति भएको छैन ।
यता अपराध अनुसन्धान कार्यालयले भने अनुसन्धान भइरहेको मात्रै बताएको छ ।
