धनुषा चित्रपुरमा आँपको बगैंचा फडानी गरेर सोलार प्लान्ट राख्ने तयारी
काठमाडौँ । साउन २३, धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा ८० बिघा आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी भएको छ ।
काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित जन्दादेवी सोलार प्रालिले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अघि बढाएको छ ।
५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको छ ।
उक्त कम्पनीले २९ असारमा किसानहरुसँग गरेको सम्झौतामा वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ ।
संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले त्यहाँ कुनै सिँचाइ आयोजना नरहेको भन्दै ती जग्गा सिँचाइयोग्य नरहेको प्रमाणित गरिदिएको छ ।
त्यस्तै बटेश्वर गाउँपालिका–१ को वडा कार्यालयले १ साउनमा केन्द्र र प्रदेश सरकारका कुनै सिँचाइ आयोजना नभएको भन्दै ती जग्गा सिँचाइ योग्य नरहेको प्रमाणित गरिदिएको छ ।
जन्दा देवी सोलार प्रालिले लिन खोजेको सबै जग्गामा आँप खेती रहेको वडा नं. १ का वडाध्यक्ष अशोककुमार महतो बताउँछन् । उनका अनुसार वर्षेनी यस क्षेत्रबाट लाखौं रुपैयाँको आँप बिक्री हुन्छ ।
‘प्रस्तावित सोलार प्लान्टका लागि ८० विघा जग्गा चाहिने भनेको छ । त्यो सबै जग्गामा अहिले आँप खेती छ । आँप उत्पादन हुन्छ’, वडाध्यक्ष महतोले भने ।