बचत रकम फिर्ता नपाएर एक सहकारी पीडितको मृत्यु भएपछि विरोध प्रदर्शन
काठमाडौं । साउन २७, बचत रकम फिर्ता नपाएर एक सहकारी पीडितको मृत्यु भएपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् ।
आर्थिक अभावका कारण अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधनपछि आन्दोलनरत सहकारी पीडितले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएपछि सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर सांकेतिक विरोध गरेका हुन् ।
पारिवारिक स्रोतका अनुसार न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत गरेका उनको रकम अभावमा उपचार हुन नसकेकाले ज्यान गएको हो ।
मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल पुर्याइएका स्थापितको अस्पतालमा राख्नुपर्ने धरौटी रकम राख्न नसक्दा उपचारमा ढिलाइ भएर निधन भएको हो ।
स्थापित पछिल्लो एक वर्षभन्दा लामो समयदेखि सहकारीको बचत रकम फिर्ता गर्न माग गर्दै आन्दोलनमा थिए ।
माइतीघरमा लामो समय धर्नामा बसेका स्थापितको रकम अभावका कारण अस्पतालले समयमा उपचार नगर्दा निधन भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ प्रवक्ता पुरुषोत्तम कार्कीले बताए ।