‘डन्ट टेक अस फर ग्रान्टेड’ : कांग्रेस महामन्त्री गगन

सहयात्रा टिभी

काठमाडौं । साउन २९, एमालेसँग मिलेर सरकार बनाएको एक महिनापछि कांग्रेस महामन्त्री गगनकुमार थापाले मंगलबार विशेष समय लिएर संसदमा बोले ।

२० मिनेट लामो सम्बोधनका क्रममा थापाले संविधान निर्माण, सुशासन र विकास निर्माणमा सरकारले कसरी काम गरोस् भन्ने चाहेको छ भनेर राखे । साथै अघिल्ला प्रधानमन्त्रीलाई झै खबरदारी गरे, ‘डन्ट टेक अस फर ग्रान्टेड ।’

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच १७ असारमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । त्यसअनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलिपल्ट शपथसँगै २१ मन्त्री नियुक्त गरे । त्यसको एक महिनापछि मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री थापाले आफू सरकार बनाउने काममा धेरै नलागेको बताए ।

तर परिणाममा जे भएको छ, एकदमै ठीक भएको भन्दै उनले भने, यो असामान्य छ, ठीक छ, यसलाई ठीक बनाउनुपर्छ ।’ त्यसका लागि दुई दलबीच भएको सातबुँदे सहमतिको मुख्य तीन विषयलाई आधार बनाउनुपर्ने बताए ।

सातबुँदेको मुख्य कुरामध्ये एक राजनीतिक स्थायित्वका लागि संविधानमा संशोधन भएको कांग्रेस महामन्त्री थापाले बताए । तर त्यसका आधारमा संविधान संशोधन गरेर पछाडि फर्किन खोजेको वा दुई दलको सिण्डिकेट बनाउन खोजेको आरोप लागेको भन्दै उनले भने, ‘कोही पछाडि फर्किन चाहँदैनौं ।’

बरु थप अधिकार स्थापित गर्नुपर्ने भन्दै उनले भने, ‘यत्रो जम्बो संसदको आकार घटाउँ, तर यो भन्दा समानुपातिक समावेशी बनाउँ भनेर छलफल गर्न सक्दैनौं ?’

उनले अगाडि भने, ‘प्रदेशका सरकारहरु यसरी नै राख्ने हो ? यसरी नै चलाउने हो ? हामी संघीयतालाई यो भन्दा थप सुदृढ र प्रभावकारी बनाउने कि नबनाउने ?’

संघीयता र गणतन्त्र यो भन्दा राम्रो बनाउनुपर्ने र समानुपातिक समावेशी प्रतिनिधित्व यो भन्दा बढाउनुपर्ने उनले बताए ।

प्रकाशित : 13 August, 2024

प्रतिक्रिया दिनुहोस्