सेयर बजारमा कारोबार रकम हालसम्मकै उच्च
काठमाडौं । साउन ३१, साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।
नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ ।
जुन अंक तीन वर्ष (१५ भदौ २०७८) कै उच्च हो । सो बेला भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार घट्दो क्रममा थियो ।
आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो । फाइनान्स ३.०५, जीवन बीमा ०.७३, उत्पादन १.७३ र अन्य समूहको सूचक २.३० प्रतिशत घटे । यस दिन बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र माउन्टेन इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर, अपि पावर, कुमारी बैंक र निफ्रा क्रमशः अगाडि रहे ।