कोशी प्रदेश सरकारका टोली डेढ लाखको राहत लिएर सोलुखुम्बु पुगे

सहयात्रा टिभी

काठमाडौं । भदौ ४, विस्थापित भएकाहरुको राहत वितरणका लागि कोशी प्रदेश सरकारको जम्बो टोली सोलुखुम्बु पुगेको छ ।

बाढी प्रभावितका लागि ओढ्ने–ओछ्याउने सामग्री लिएर प्रदेश सरकारका दुई मन्त्रीसहित १६ जनाको टोली सदरमुकाम सल्लेरी पुगेको हो ।

फाइबर सिरक, फाइबरकै सिरानी, म्याट्रेस र तन्ना ५०–५० थान लिएर आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की सहितको टोली सोलुखुम्बु गएको हो ।

दुई मन्त्रीसहितको टोलीमा केही कर्मचारी र नेकपा एमालेका कार्यकर्ताहरु पनि छन् । बाढी प्रभावित क्षेत्र थामेमा पुग्न सदरमुकाम सल्लेरीबाट करिब दुई दिन हिंड्नुपर्छ । त्यसैले कोशी सरकारका मन्त्रीसहितको टोली सदरमुकाममा राहत हस्तान्तरण गरेर फर्किने तयारीमा छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राहत सामग्री हस्तान्तरणका लागि टोली सोलुखुम्बु सदरमुकाम पुगेको जानकारी दिए ।

राहत सामग्री प्रमुख जिल्ला अधिकारीलाई बुझाएर फर्किने उनले जानकारी दिए । खाद्यान्न सामग्री माग नभएका कारण ओढ्ने–ओछ्याउने सामान मात्रै लगिएको उनले बताए ।

प्रदेश सरकारले राहत सामग्री खरिद गर्नका लागि करिब डेढ लाख रुपैयाँ खर्च गरेको छ । त्यो सामग्री सोलु पुर्याउन ट्रकलाई ३७ हजार रुपैयाँ भाडा तिरिएको छ । ट्रक आइतबार सल्लेरीमा राहत पुर्‍याएर सोमबार विराटनगर फर्किसकेको छ ।

दुई मन्त्री सहितको टोली भने तीनवटा गाडी चढेर सोमबार सोलु सदरमुकाम गएका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री हस्तान्तरण गर्दैछन् ।

३२ साउनमा हिमपोखरी फुटेर आएको बाढीले पर्यटकीय क्षेत्र थामे गाउँमा ठूलो क्षति भएको थियो । सोलु सदरमुकाम सल्लेरी पुगेको प्रदेश सरकारको टोली पहिरो प्रभावितलाई भेट्न खोटाङ पनि जाने तयारीमा छ ।

 

प्रकाशित : 20 August, 2024

प्रतिक्रिया दिनुहोस्