निजामतीमा इन्जिनियरिङ सेवाका सचिव थप्न दबाब

काठमाडौं । भदौ ५, निजामती कर्मचारीको नेपाल इन्जिनियरिङ सेवाका वरिष्ठ सहसचिवहरुले पछिल्लो समयमा राजनीतिक भेटघाट तीव्र पारेका छन् ।
खुला रुपमै भइरहेका यस्ता भेटघाटको मुख्य उद्देश्य हो, इन्जिनियरिङतर्फ सचिवको दरबन्दी थप्न दबाब दिनु र आफूहरुमाथि कसरी अन्याय भएको छ भन्नेबारे बताउनु ।
अहिले निजामती सेवामा इन्जिनियरिङ सेवाभित्र १५ वटा समूह र सो अन्तर्गत २० वटा उपसमूहहरु छन् । यी सबै समूह र उपसमूहबाट १५३ जना सहससचिवहरु कार्यरत छन् । उनीहरु माथिल्लो पदमा बढुवा हुनका लागि ९ जना सचिवको दरबन्दी छ ।
तर, अन्य सेवाको तुलनामा इन्जिनियरिङतर्फ सचिवहरुको दरबन्दी कम हुँदा धेरै सहसचिवहरुले बढुवा नहुँदै सेवाबाट बिदा हुनु परिरहेको छ ।
त्यसैले वरिष्ठतम् सहसचिवहरु अरु सेवा समूहले पाइरहेको अवसरसरह आफूहरुलाई पनि विशिष्ट श्रेणीसम्म बढुवा हुने अवसर दिन माग गरिरहेका छन् ।