रामेछापको टोकरपुरमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

सहयात्रा टिभी

रामेछाप । भदौ ९, रामेछापमा अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । घटनामा ८ जना बेपत्ता भएका छन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेखखर्कमा गएराति पहिरोले चारवटा घर बगाएको थियो ।

पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्को एक घर बगाएको बताइएको छ । पहिरोमा पुरिएका मध्ये २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए । प्रहरीले शव फेला परेकाहरुको पहिचान हुन बाँकी रहेको जनाएको छ ।

पहिरोमा ज्यान गुमाउनेमा भीमबहादुर थापाकी छोरी चण्डिका थापा मगर र करिब एक वर्षको नाबालक छोरा रहेको बताइएको छ । एक बालकले भने भागेर ज्यान जोगाएका छन् । दोरम्बा शैलुङकाे वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने अधेरी खोलाको पक्की पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत क्षतिग्रस्त भएकाले उद्धारमा समस्या भएको बताइएको छ ।

प्रकाशित : 25 August, 2024

प्रतिक्रिया दिनुहोस्