सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता

सहयात्रा टिभी

काठमाडौं । भदौ २४, आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधन सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताका तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सहमति भएको हो ।

सहमति भएसँगै १ सय ८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित भएको छ । सहमति भएसँगै सहकारी विभागका उपरजिस्ट्रार संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागबाट शाखा अधिकृत तहको सदस्यसचिव र प्रदेश र स्थानीय तहबाट एकेक प्रतिनिधित्व रहने गरी कार्यदल गठन भएको हो ।

छलफलमा सहकारी मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, पूर्वप्रहरी महानिरीक्षक एवं सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान सल्लाहकार सर्वेन्द्र खनाल, सहकारी विभाग रजिस्ट्रार पिताम्बर घिacमिरे, सहसचिव मदन कोइराला, बचतकर्ता संरक्षण राष्ट्रिय अभियान अध्यक्ष कुशलभ केसी लगायतको सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिसँगै अनसनमा बसेका सहकारी पिडितलाई सहकारी मन्त्रालयका सचिव पोखरेल, सहकारी विभाग रजिस्ट्रार घिमिरे लगायतले जुस खुवाएर अनसन स्थगित गराएका थिए ।

समस्यामा परेका सहकारी बचतकर्ताको बचत फिर्ता र ऋण असुली लगायत विषय पहिचान तथा समाधानमा आवश्यक तथ्यांक संकलन र विश्लेषण लगायत कार्यमा निरन्तर सहयोग गर्न कार्यदल बनाउने सहमति भएको हो ।

 

प्रकाशित : 9 September, 2024

प्रतिक्रिया दिनुहोस्