कांग्रेसले माग्यो उपसभामुख इन्दिरा रानामगरको राजीनामा

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।

बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।

२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भिर विवादमा परेकी छिन् ।

उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ । कांग्रेसको शीर्ष तहको बैठकले उपसभामुखलाई हटाउनका लागि थप छलफल सत्ता गठबन्धनमा गर्ने निर्णय लिएको छ ।

मंगलबार बसेको संसद बैठकमा प्रतिपक्ष र सत्ता पक्ष दलका सांसदहरु उपसभामुखको पक्ष–विपक्षमा उभिएका थिए ।

 

 

प्रकाशित : 11 September, 2024

प्रतिक्रिया दिनुहोस्