कांग्रेस-एमालेद्धारा जनतासँग परामर्श गरी संविधान संशोधन गर्ने प्रतिबद्धता

सहयात्रा टिभी

काठमाडौं । असोज ३, सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते भएको संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदे सहमति अनुसार जनचाहनालाई सम्बोधन गर्ने संकल्पका साथ नीतिगत प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

आठ बुँदे नीतिगत प्रतिबद्धतामा राष्ट्रिय हितको रक्षा, संविधान कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन गर्ने उल्लेख छ ।

उनीहरुले संविधानको रक्षा, कार्यान्वयन र विकासको मुख्य दायित्व र जिम्मेवारीबोधका साथ संविधानको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

संघीयता कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्दै राज्यका निकायबीच अन्तर समन्वयलाई प्रभावकारी बनाउने पनि उनीहरुको प्रतिबद्धता छ । संघीय निजामती सेवा ऐन, शिक्षा ऐन र प्रहरी समायोजन लगायत बाँकी ऐनलाई अविलम्ब निष्कर्षमा पुर्‍याउने प्रतिबद्धतामा उल्लेख छ ।

संविधान कार्यान्वयनको समग्र अवस्था, प्राप्त उपलब्धि र कमीकमजोरी तथा बाँकी कामहरुका सम्बन्धमा वस्तुनिष्ठ समीक्षा गर्ने प्रतिबद्धता कांग्रेस-एमालेले जनाएका छन् ।

त्यसपछि वृहत्तर सहमतिका आधारमा संविधान संशोधन गरी संविधानप्रतिको जनताको स्वामित्व र अपनत्व थप विस्तार गर्ने उनीहरुको प्रतिबद्धता छ ।

साथै संविधान संशोधनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र तथा संघीय र समावेशी शासन प्रणाली लगायत २०६२\६३ को जनआन्दोलनका उपलब्धिहरु तथा संविधानका आधारभूत स्तम्भहरुलाई थप संस्थागन र सुदृढ गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

 

प्रकाशित : 19 September, 2024

प्रतिक्रिया दिनुहोस्