उत्तरी गोरखामा गाउँलेले विरोधस्वरुप रोके हेलिकप्टर उडान

सहयात्रा टिभी

काठमाडौं ।असोज ९ , निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँका बासिन्दाले उत्तरी गोरखामा हेलिकप्टर उडानमा रोक लगाएका छन् ।

बुधबार सामागाउँको हेलिप्याडमा जम्मा भएर गाउँलेहरुले हेलिकप्टर ल्याण्ड गर्न दिएका छैनन् । विरोधस्वरुप उनीहरुले हेलिप्याडमा ढुंगा थुपारेका छन् भने झण्डा पनि गाडेका छन् ।

निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, हेलिकप्टर उडान प्रक्रिया सहज बनाउनुपर्ने लगायतका माग उनीहरुको छ । सम्बन्धित निकायले आफ्नो मागलाई बेवास्ता गरेका कारण हेलि उडानमा रोक लगाइएको स्थानीय मिङमार लामाले बताए ।

पाँच दिनभित्र माग पूरा गर्न भनेपनि पुरा नभएपछि बिरोध स्वरुप हेलि उडान रोकेको उनले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले निषेधित क्षेत्र खुल्ला गरिदिन पटक पटक माग राख्दै आएपनि सरकारले बेवास्ता गर्ने गरेको बताए ।

‘स्थानीयको यो माग धेरै पहिलेदेखिको हो, प्रधानमन्त्रीसम्मलाई डेलिगेसन र ज्ञापन पत्र त स्थानीयले कति बुझाए बुझाए’, उनले भने, ‘तर सरकारले एक कानले सुन्ने अर्को कानले उडाउने गर्‍यो ।’ अहिले हेलिकप्टर बन्द गर्नु त्यहाँको जनताको बाध्यता रहेको भन्दै उनले स्थानीयको समर्थन गरे ।

 

प्रकाशित : 25 September, 2024

प्रतिक्रिया दिनुहोस्