एलडीसीका लागि सहयोग बढाउन परराष्ट्रमन्त्री देउवाको आग्रह

सहयात्रा टिभी

काठमाडौं ।असोज १० , परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरूलाई आग्रह गरेकी छन् ।

न्युयोर्कमा जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडीसीको अध्यक्षका हैसियतले उनले अल्पविकसित देशहरूलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

पछिल्लो समय विश्वका अतिकम विकसित देशहरू विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड–१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित बनेको बताएकी थिइन् ।

‘पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरु चरम गरिबीतर्फ धकेलिएका छन् । एलडीसीहरूमा समावेशी आर्थिक वृद्धि, दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रुपमा प्रवर्दधन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन, ‘डिजिटल डिभाइड’ कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक समस्या घटाउन जि‐२० को सहयोग महत्त्वपूर्ण हुनेछ,’ परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ ।

जी‐२० को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्री राणाले धन्यवाद दिइन् । ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको उनले स्वागत गरिन् ।

जी ‐२० मा एलडीसीका तर्फबाट प्रतिनिधित्व गर्ने औपचारिक संयन्त्र निर्माणको आग्रह परराष्ट्रमन्त्री राणाले गरिन् ।

 

प्रकाशित : 26 September, 2024

प्रतिक्रिया दिनुहोस्