स्पष्टीकरण सोधेकै भोलिपल्ट घिसिङको काउन्टर : बक्यौता बुझाउन भन्दै ४९ उद्योगको सूची सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । असोज २४, ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेकै भोलिपल्ट नेपाल विद्यत प्राधिकरणले ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन सूचना निकालेको छ ।

 

डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै विद्युत् प्राधिकरणले आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन भनेको हो ।

तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ ।

ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बुधबार १५ बुँदे स्पष्टीकरण सोधेलगत्तै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो ।

यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरे बापतको बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन् ।

प्राधिकरणले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाएका उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकमसमेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको छ ।

आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

घिसिङलाई पदबाट हटाउन यसअघिदेखि नै चलखेल सुरु गरेको सरकारले फेरि स्पष्टीकरणको बहानामा राजीनामा दिन बाध्य पार्न खोजी रहेको चर्चा छ । सरकारले घिसिङमाथि दबाब बढाउँदा उनले पनि डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली उपभोग गरी बक्यौता तिर्न आनाकानी गरिरहेका उद्योगीहरुलाई रकम बुझाउन डेट लाइन दिँदै सूचना निकालेका छन् । यसले उद्योगी व्यापारीको पक्षमा नरम देखिएको सरकारमाथि दबाब बढ्ने देखिन्छ । कांग्रेस एमालेको गठबन्धन सरकार बनेदेखि नै घिसिङलाई हटाउने रणनीतिमा सरकार लाग्दै आएको छ । जसको जनस्तरबाट समेत आलोचना हुँदै आएको छ ।

प्रकाशित : 10 October, 2024

प्रतिक्रिया दिनुहोस्