राष्ट्रपतिले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई दसैँको टिका लगाइदिने
काठमाडौं । असोज २६, राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टिकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टिका तथा जमरा लगाइलिने भएका छन्।
उनले यही असोज २६ गते शनिबार दिउँसो ३:३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टिका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३:३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टिकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टिकाजमरा लगाइदिने छन् । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टिकाजमरा लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपतिले दाइका हातबाट टिका लाउने
राष्ट्रपति पौडेलले बडा दसैँ २०८१ का अवसरमा विजया दशमीको टिका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने छन् । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टिका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टिका, जमरा र प्रसाद ग्रहण गर्ने छन्।
राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११:३६ बजे टिका र जमरा ग्रहण गर्ने छन् ।
सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टिका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टिकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।