नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २, नेपालले टि-२० सिरिजमा अमेरिकामाथि शानदार जित निकालेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १६५ रनको लक्ष्य पूरा गर्न नसक्दा अमेरिका नेपालसँग पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ३३ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाए। उनी अर्धशतक पूरा गर्न एक रनले चुकेका थिए ।

अमेरिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे । ओपनर अनिल शाह र आशिफ शेखले समान २७–२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए। कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए। त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।

१९ औं र २० औं ओभरमा नेपालको ब्याटिङ लाइन टिक्न सकेन । करण केसी र आरिफ शेख शून्यमा आउट हुँदा सोमपाल कामीले मात्र दुई रन जोड्न सकेका थिए । नेपालको ब्याटिङ लाइन ध्वस्त पार्न अमेरिकाका लागि सौरभ नेत्रावलकर, जसदीप सिंहर हरमित सिंहले समान दुईदुई विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे । गुल्सन झा, करण केसी र रिजन ढकालले समान एकएक विकेट हात पारे ।

प्रकाशित : 18 October, 2024

प्रतिक्रिया दिनुहोस्