एमाले फुटाउनेहरूलाई अहिले अध्यादेशको डर लागिरहेको होला : प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ६, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सहज बनाउने अध्यादेश ल्याउने चर्चा सरकारबाट नभएर विपक्षी दलहरूबाट चलेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको विपक्षी गठबन्धनका नेताहरूको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्रीले तत्काल त्यस्तो अध्यादेश ल्याउने तयारी सरकारले नगरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विगतमा एमाले विभाजन गर्न अध्यादेश ल्याउने र अध्यादेशको बलमा विभाजन हुनेहरूलाई नै अहिले अध्यादेशले त्रसित बनाएको हुन सक्ने बताए ।

प्रधानमन्त्रीको भनाई थियो, ‘हिजो मेरो पार्टी फुटाउन जसरी अध्यादेश ल्याइयो तिनै साथीहरूलाई अहिले त्यस्तो लागिरहेको हुनसक्छ । तर सरकारले कुनै तयारी गरेको छैन । नकारात्मक कुरा धेरै भएका छन् । त्यसको जवाफ दिन मलाई पनि आउँछ । तर अहिले मेरो प्राथमिकता देश र जनता हुन् ।’

विपक्षी गठबन्धनले ज्ञापनपत्र बुझाउँदै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने बताएका छन् ।

प्रकाशित : 22 October, 2024

प्रतिक्रिया दिनुहोस्