विपी राजमार्ग पुनःनिर्माणका लागि जाइकाको निर्णय कुर्दै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ८, गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निर्णयको पर्खाइमा बसेको छ ।

कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने जनाएको छ ।

विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ ।

बाढीपहिरोले अबरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिम छ ।

केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको थियो ।

उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए ।

योगेशका अनुसार प्रम ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक\दुई दिनमै थप छलफल गर्ने योजना तय गरिएको छ ।

बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तह, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा असोज २५ गतेबाट सञ्चालन गर्न सफल भइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३\५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतका उक्त राजमार्ग निर्माण भएको हो ।

 

प्रकाशित : 24 October, 2024

प्रतिक्रिया दिनुहोस्