रंगोली किन र कसरी बनाउने ?
काठमाडौं । कात्तिक १५, तिहारमा हामी आँगनमा रंगोली बनाउँछौ । कतिले यसमा स्वस्तिक चिन्ह बनाउँछन्, कतिले गणेशको आकृति । कसैले अरु कलात्मक रंगोली पनि बनाउँछन् । झिलिमिली पर्वमा रंगोलीले घरको शोभा बढाउँछ । यद्यपि, यसको साइनो घरको सजावटसँग मात्र छैन ।
खासमा, कुनै पनि शुभकार्यमा रंगोली बनाइन्छ । यो लोक कला हो ।
रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतिक हो । र, आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग पनि । त्यसैले त विभिन्न हवन वा यज्ञमा पनि रंगोली बनाइन्छ । गाउँघरमा आँगन लिपपोत गरेर रंगोली बनाइन्छ । यसले भूमि शुद्धीकरण हुने विश्वास छ ।
लक्ष्मी पूजामा रंगोलीलाई पनि महत्त्वका साथ सजाउने गरिन्छ । खासमा रंगोलीलाई स्वागतम् चिह्न वा भगवतीको आसनको रूपमा प्रयोग गरिएको हो भन्न सकिन्छ ।
यो घरको प्रवेशद्वारमा बनाइन्छ र यसले देवी लक्ष्मीलाई आमन्त्रण गर्नका लागि सजिलो बनाउँछ । लक्ष्मीजीको आगमनका लागि रंगोलीले स्वागतको वातावरण सिर्जना गर्दछ ।
रंगोलीलाई रङ्गवली वा रेखी पनि भनिन्छ । रंगोली र पाइला बनाउने परम्पराले हाम्रो धार्मिक तथा सांस्कृतिक दुवै दृष्टिकोणबाट महत्त्व राख्दछ र लक्ष्मी पूजामा यसको विशेष स्थान पनि रहेको छ ।
रंगोली कस्तो हुनुपर्छ ?
१) तिहारका लागि रंगोली स्वस्तिक चिन्ह वा गणेशजीको आकृतिमा सजाउन सकिन्छ ।
२) यसमा साधारण ज्यामितीय आकार हुन्छ, जसमा देवी-देवताको आकृति बनाइन्छ ।
३) रंगोलीका लागि सिन्दुर वा अन्य थुप्रै रंग प्रयोग गर्न सकिन्छ । सुख्खा रंगहरुको प्रयोगबाट मात्रै पनि रंगोली बनाउन सकिन्छ ।
४) रंगोली बनाउनुभन्दा अघिल्लो रात चामललाई भिन्नाभिन्नै रंगमा भिजाउने र रंगिन चामलले रंगोली बनाउन सकिन्छ ।
५) चामल वा मैदाको पिठोमा थरिथरिका रंग मिसाएर पनि रंगोली तयार गर्न सकिन्छ ।
६) रंगोलीलाई सयपत्री फूलले सजाउन सकिन्छ । बीच वा कुनामा दियो बाल्न सकिन्छ ।
किन बनाउने ?
रंगोलीको एक नाम अल्पना पनि हो । अल्पना वात्स्यायनको कामसूत्रमा वणिर्त चौसठ्ठी कलामा एक हो । यो अति प्राचीन लोक कला हो । प्राचीनका कालमा विश्वास थियो, घरमा कलात्मक चित्र र आकृति बनाउँदा धन ऐश्वर्यले परिपूर्ण भइन्छ ।
रंगोलीको उद्देश्य
रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतिक मानिन्छ । यसलाई आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग मानिन्छ । अहिले आँगनमा लिपपोत गरेर रंगोली बनाइन्छ । यसले भूमि शुद्धीकरणको भावना एवं समृद्धिको आह्वान गरिएको बुझिन्छ । यसको अर्को सांकेतिक अर्थ हो, शरीर नश्वर छ भन्ने जान्दाजान्दै जीवनलाई रंगीन बनाउनुपर्छ । यो रचनात्मक अभिव्यक्तिको माध्यमसमेत हो ।
रंगोलीको रचना
रंगोली दुई प्रकारले बनाइन्छ, सुख्खा वा गिलो । दुवैलाई पहिलो मुक्तहस्तले र दोस्रो विन्दुलाई जोडेर बनाइन्छ ।