वीरगन्जका पोखरी छठ पर्वका लागि सिँगारियो
वीरगञ्ज (पर्सा) । कात्तिक १९, यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगन्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ ।
प्रायजसो: यहाँका सर्वसाधारणले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहेको छ । सोही अनुसार यहाँका सर्वसाधारणले आ–आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पार्ने काम गरिरहेका छन् ।
वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह पनि वीरगन्ज महानगरभित्र मनाइने छठ घाटहरूको नियमित रूपमा निरीक्षण गरिरहेका छन् । उनले छठ पर्वलाई भव्य र सभ्य ढङ्गले मनाउने गरी तयारी तीव्र पारिएको जानकारी दिए ।
वीरगन्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठ पर्व मनाइँदैछ । यीबाहेक अन्य स्थानमा पनि छठका लागि आ–आफ्नो ढङ्गले झकिझकाउ गर्ने काम भइरहेको छ ।
वीरगन्ज महानगरभित्र सजावट र झकिझकाउको हिसाबले भने घडीअर्वा पोखरीमा विशेष गर्ने गरिन्छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साह कानुले घडीअर्वा पोखरीमा मनाइने छठ पर्वको झकिझकाउ सजावट हेर्नका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय सहरका पर्यटकहरूको पनि घुइँचो लाग्ने बताउँछन् ।
“घडीअर्वा पोखरीमा छठ पर्वको सजावट हेर्नका लागि नेपालका काठमाडौँ, पोखरा, नारायणघाट, बुटवल, चितवनलगायत सबै सहरका सर्वसाधारणलाई चुलो निम्तोसहित आउनका लागि अनुरोध गर्दछु,” उनले भने , “नेपालका मात्रै होइन, भारतको विहार राज्य, उत्तर प्रदेश लगायतका ठाउँमा बसोबास गर्ने पनि यहाँको मनोरम दृश्य हेर्न आउने गर्छन् ।”
समितिका अध्यक्ष कानुले घडीअर्वा पोखरीमा मनाउने छठ पर्व सुरक्षा, सजावट र सप्तरङ्गी बत्तीको झिलिमिलीले पनि अवलोकनकर्ताको मन जित्ने दाबी गर्नुभयो । “हामीले विगत २२ वर्षदेखि घडीअर्वा पोखरीमा छठी माताको पूजाअर्चना गर्दै आइरहेका छौँ,” उनले भने , “हामीले छठ पूजामा घडीअर्वा पोखरीको सजावट र डेकोरेसनका लागि कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ । हाम्रो झिलिमिली बत्ती, पण्डाललाई निकै आकर्षक ढङ्गले सिँगारिएको छ ।” समितिका अनुसार पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी जगदीश टेन्टले पाएको छ । तराई–मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्ततिको सुख समृद्धिको कामना गर्दै मनाउने गरिन्छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।
छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरी सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानुनले घडीअर्वा पोखरीभित्रको सरसफाइलाई पनि तीव्र बनाएको जानकारी दिए । “पूजाअर्चना गर्दा पोखरीमा दियोबत्ती खसेर बसेका हुन्छन्,” उनले भने , “पोखरीलाई शुद्ध र स्वच्छ बनाउनका लागि पनि सरसफाइको कार्यलाई निकै प्राथमिकता दिँदै आइरहेका छौँ ।” वीरगन्ज महानगरले पनि घडीअर्वा पोखरीको वरपर डेंगुको सङ्क्रमण बढ्न सक्ने भन्दै ‘सर्च एन्ड डिस्ट्रोय’ गर्ने पनि काम गरिसकेको छ । रासस