छठको मुख्य दिन आज

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २२, सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन । आज छठको तेस्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।

फाइद्य तस्वीर

आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैं सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाटहरु मनमोहक छन् । बर्तालुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ ।

छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित : 7 November, 2024

प्रतिक्रिया दिनुहोस्