प्राधिकरण बोर्ड बैठक दिउँसो २ बजे बस्दै
काठमाडौं । कात्तिक २७, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठक मंगलबार दिउँसो २ बजे बस्दै छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले ‘टाइम अफ डे’ (टीओडी) डाटा तथा तत्काल प्रचलित कानुन बमोजिम १५ दिनभित्र यो विवादको बक्यौता असुली गर्ने निर्णय पनि गरेको थियो ।
मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम बक्यौताको पुनः गणना गरी असुल गर्ने निर्णय पनि बोर्ड बैठकबाट हुने जानकारी एक बोर्ड सदस्यले दिए ।
बोर्ड बैठक बिहान साढे ११ बजे नै बस्ने भनिए पनि सञ्चालकहरू भरत आचार्य र रतन ऐन उपत्यका बाहिर भएकाले उनीहरू आएपछि बैठक हुने ती सदस्यले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र उद्योगहरूमा लाइन जोडिदिने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद् निर्णय प्रमाणित भएर सोमबार अपराह्न मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेको थियो ।
मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न सोमबार साँझ प्राधिकरणलाई पत्र पठाइसकेको छ । प्राधिकरणमा साँझ ५:१५ बजे उक्त पत्र दर्ता भएकाले त्यसको २४ घण्टाभित्र बिजुली जोडिने मन्त्रालय स्रोतले बतायो ।