अजरबैजान भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३०, राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा आयोजित कोप २९ मा सहभागी भएर आज स्वदेश फर्किएका छन् ।

यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते अजरबैजान प्रस्थान गरेका थिए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री एवं सरकारका उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए । त्यस्तै, सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले अजरबैजान र मालदिभ्सका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसङ्घका महासचिवले आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएका थिए ।

प्रकाशित : 15 November, 2024

प्रतिक्रिया दिनुहोस्