अस्पतालले थन्काएको उपकरण आविष्कार केन्द्रले विनाखर्च बनायो
काठमाडौं । मंसिर ५, सरकारी अस्पतालमा अत्यावश्यक उपकरण मर्मत गर्न सकिने भए पनी उपकरणलाई थन्काएर कमिसनको नाममा नयाँ खरिद गरिन्छ ।
तर तिनै थन्काइएका उपकरणलाई राष्ट्रिय आविष्कार केन्द्रले सामान्य मर्मत गरेर पुनः प्रयोग गर्न मिल्ने बनाएको छ ।
भदौंमा सम्झौता सहित बिग्रिएका उपकरण मर्मत गर्ने जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो । मर्मत गर्न लाखौं पर्छ भनेर कोठाभित्र ताला लगाएर राखिएका उपकरण केन्द्रले विनाखर्च सञ्चालनमा ल्याएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रले अहिले वीर र कान्ति बाल अस्पतालमा काम नलाग्ने भनेर थन्काइएका उपकरणको मर्मत धमाधम गरिरहेको छ ।
पहिलो चरणमा अस्पतालमा भएका उपकरण विवरण संकलन गरिएको थियो । त्यसपछि बिग्रिएका उपकरणको लागत अनुमान र कम खर्चमा बन्ने उपकरणको मर्मत सुरु गरिएको थियो ।
केन्द्रका अनुसार वीर अस्पतालमा एक हजार ९२५ उपकरण छन् । तीमध्ये एक हजार ६२३ उपकरण ९१६ प्रतिशत० बिग्रिएको भनेर थन्काइएका छन् । यस्तै अवस्था कान्ति बाल अस्पतालको पनि छ । कान्तिमा ८४४ मध्ये १५८ वटा उपकरणमा माकुराको जालो लागेको छ ।
आविष्कार केन्द्रले सञ्चालन हुन नसकेका भनिएका उपकरणलाई एक–एक गरी लागत अनुमान गर्दै मर्मत गर्ने काम भइरहेको छ ।
हाल बायोमेडिकल इन्जिनियरसहित १२ जनाको टोली वीर र कान्ति अस्पतालका बिग्रेका उपकरण मर्मतमा खटिएको छ ।
वीर अस्पतालमा एक सी–आर्म मेसिन र पाँच वटा भेन्टिलेटर सञ्चालनमा आएका छन् । यस्तै कान्तिमा इन्र्फन्ट राडियन वार्मर १, मोनिटर २ र इन्फ्युजन पप्प ३ वटा मर्मत भएका छन् ।