चीन भ्रमणमा पोखरा विमानस्थलको कुरा राख्ने प्रधानमन्त्री ओलीको आश्वासन
काठमाडौं । मंसिर ५, चीन भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल सञ्चालनको विषयलाई पनि एजेण्डा बनाउने बताएका छन् ।
गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उद्योगी र पर्यटन व्यवसायीहरुसहित भेटेका गण्डकीका पर्यटनमन्त्री बस्यालले पोखराबाट उडान सुरु भएको २ वर्षसम्म पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।
सो भेटमा पोखराका पर्यटनसँग सम्बन्धित संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसकेकाले अब पोखराबाट पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उनीहरुको माग छ ।
अघिल्लो वर्ष भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जानुअघि पनि गण्डकी प्रदेशका मन्त्री नेतृत्वको टोलीले सोही माग राखेको थियो । त्यो माग पूरा नभएपछि ओलीको चीन भ्रमणको क्रममा पनि सोही मागसहित पोखराबाट टोली काठमाडौं आएको छ ।
प्रधानमन्त्री ओली पोखरा विमानस्थल सञ्चालनबारे आफू चिन्तित रहेको र यसबारे कूटनीतिक पहल गर्ने बताए । उनले आसन्न चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे एजेण्डा बनाउने आश्वासन दिएको गण्डकीका पर्यटनमन्त्री बस्यालले बताए ।