कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्यायो : अर्थमन्त्री

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताएका छन् ।

बिहीबार नेपालले पहिलो पटक गरेको कन्ट्री रेटिङको नतिजा सार्वजनिक भएसँगै शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको बताए ।

सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुसीको नतिजा भएको भन्दै नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान समेत गरे ।

उनले भने, ‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं ।’

नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्रीले बताए ।

अर्थसचिव डा. राम प्रसाद घिमिरेले क्रेडिट रेटिङले राम्रो नतिजा दिएको अवस्थामा ऋणमा ‘रिक्स प्रिमियम’ कम हुने बताए । यसले हामी कहाँ छौं भन्ने थाहा भएको र व्यवसायिक वातावरणका लागि ‘कन्फिडेन्स’ बढाउन समेत भूमिका खेल्ने उनले बताए ।

रेटिङमार्फत सुधारका क्षेत्र पहिचान भएको भन्दै त्यसमा उत्प्रेरित हुन सहयोग पुगेको उनले बताए । उनले भने, ‘यो हाम्रो सुरुवात हो, निरन्तर रुपमा सुधार गर्न उत्प्रेरणा दिएको छ, हामी आगामी दिनमा त्यसतर्फ निरन्तर लाग्छौं,’ उनले भने ।

 

प्रकाशित : 22 November, 2024

प्रतिक्रिया दिनुहोस्