स्कारपियो दुर्घटनामा ८ जनाको मृत्यु

बारा । मंसिर २५, बाराको गढीमाईमा आयोजित मेलामा सहभागी भएर फर्किरहेका यात्रु चढेको स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकास्थित धन्सार–लमाहा खण्डमा मंगलबारबिहान भएको दुर्घटनामा ४ जना घाइते भएका छन् ।
गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।
प्रहरीका अनुसार सिराहा अर्नमा गाउँपालिका–३ का ६० वर्षीया फुलमन्ति रामको उपचारको क्रममा मृत्यु भएको छ । थर वतन नखुलेको अन्दाजी ४५ वर्षीय स्कर्पिओ चालकको पनि उपचारको क्रममा मृत्यु भएको छ । अरु मृतकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको डीएसपी राईले जानकारी दिए ।