रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै
पोखरा । मंसिर २७, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो ।
अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ । ‘आज म्याद थपका लागि अदालत उपस्थित गराउने र अर्को पटकमा अभियोग पत्र दायर गर्ने तयारी छ,’ जिल्ला सरकारी वकिल कार्यालयको उच्च स्रोतले भन्यो, ‘अभियोग पत्र तयार गर्ने काम भइरहेको छ ।’
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
सहकारी सम्बन्धि छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । रवि संलग्न रहेका भनिएका सहकारी रहेको भन्दै पक्राउ पुर्जी जारी भएका जिल्लामा रविको बयान गराइएको छ । बुधबारमात्र रविलाई पर्सा हुँदै काठमाडौं ल्याइएको थियो ।
संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको छ र ती सबै ठाउँमा रविको बयान गराइएको छ ।
सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले देखाएको छ ।
समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीवी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये जीवी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान भइरहेको छ । झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।