गुल्मीमा तीन युवा मिलेर खानेपानी उद्योग खोले

सहयात्रा टिभी

काठमाडौं । पुस २५, गुल्मीमा तीन युवा मिलेर खानेपानी उद्योग खोलेका छन् । उद्योगमा उनीहरूले करिब २ करोड रुपैयाँ लगानी गरेका छन् ।

रेसुङ्गा नगरपालिका–३ बेहोरेस्थित छल्दी खोला किनारमा उनीहरूले रेसुङ्गा जल उद्योग प्रालि सञ्चालनमा ल्याएका हुन् ।

उद्योगबाट १ लिटर, आधा लिटर र २० लिटर जारमा पानी बजार पठाउने गरिएको सञ्चालकले बताए । पानी गुल्मीभरि पठाउन थालिएकोछ ।

रेसुङ्गा–२ का विश्वास पुन, ३ का सन्तोष कुँवर र ६ का राम पन्थी मिलेर पानी उद्योग सञ्चालन गरेका हुन् । कुँवर सिभिल इन्जिनियर र पन्थी मेकानिकल इन्जिनियर हुन् ।

रेसुङ्गामा रहेको मूलबाट प्रशोधन गरी खानेपानी बिक्री वितरण थालिएको अध्यक्ष कुँवरले बताए । प्रतिघण्टा २ हजार लिटर पानी उत्पादन क्षमताको उद्योगले अहिले १ हजार ४ सय लिटर उत्पादन गरिरहेको छ ।

उद्योगका अनुसार जिल्लाको माग पूरा भएपछि अन्य जिल्ला पठाइने छ । प्रतिबोतल २० रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । चिनियाँ प्रविधियुक्त स्वचालित उद्योगमा स्थानीय १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

 

 

 

प्रकाशित : 9 January, 2025

प्रतिक्रिया दिनुहोस्