त्रिविले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्ने
सहयात्रा टिभी
काठमाडौं । पुस २९, त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ ।
त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए ।
नफर्किएका शिक्षकको खोजबिन सुरु गरिएको समितिका संयोजक काफ्लेले बताए । विश्वविद्यालयको नियममा ५ वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ ।
३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।
यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ ।