वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको प्रचण्डको ब्रिफिङ
काठमाडौं । माघ २, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको ब्रिफिङ गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले मध्यावधिमै जाने तयारीस्वरुप अहिले विभिन्न अध्यादेश जारी भएको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि सत्तारुढ कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको ब्रिफिङको क्रममा भनेका छन् ।
‘सरकार अहिले ०८७ मा मात्रै हुन्छ भनेर केपी जीले भन्नुभयो । कांग्रेसभित्र अन्तरविरोध देखिइरहेको छ,’ प्रचण्डले विपक्षी दलको बैठकमा भनेका छन्, ‘यो सन्दर्भमा सरकारको मूल नेतृत्व मध्यावधिमा जाने लाइनमा छ । सरकार यसैमा अग्रसर छ ।’
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले आफूहरू सरकारका गतिविधि नियालिरहेको र अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्षमा पुगेको सुनाए ।