प्रमुख चार दलका नेताहरूबीच कानुन निर्माणबारे छलफल

काठमाडौं । माघ ४, प्रमुख चार राजनीतिक दलका नेताहरूबीच कानुन निर्माणबारे छलफल भएको छ ।
शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच छलफल भएको हो ।
छलफलमा चारै दलका मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी थिए । ‘संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषय’ मा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
हाउसमै र संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि चार दलका नेताहरूबीच छलफल भएको छ । दलहरूले कानुन निर्माणमा समयसीमा राख्ने विषयमा समेत छलफल गर्दै आएका छन् ।