लुम्बिनी प्रदेश सभाको बैठक आज
काठमाडौं । माघ ६, लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्ने भएको छ । पाँचौँ अधिवेशनको तेस्रो बैठक आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । यसअघि प्रदेश सभाको दोस्रो बैठक पुस १७ गते बसेको थियो । दोस्रो बैठकले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सन्देशसहित फिर्ता पठाएका प्रदेश निजामती कर्मचारीसम्बन्धी प्रदेश निजामती सेवा ऐन, (२०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित गरेको थियो ।
पारित दुवै विधेयक सभामुख तुलाराम घर्तीले प्रमाणित गरेर पुनः पुस १९ गते नै प्रदेश प्रमुखसमक्ष पठाएका थिए । प्रदेश प्रमुख घर्तीले पुस २७ र २८ गते प्रमाणीकरण गरेपछि प्रदेश सभाको तेस्रो बैठक बस्न थालेको हो । प्रदेश सभाको आइतबार बसेको तेस्रो बैठकमा प्रदेश सरकारको पुस ६ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत भई कार्यान्वयनमा रहेको लैङ्गिक समानता नीति २०८१ बारे जानकारी दिने र दोस्रो बैठकमा छलफलका लागि पेस भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभाका सचिव पुनले बताए ।