कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
सहयात्रा टिभी
विराटनगर । माघ ७, कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गरेका हुन् । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिएका छन्।
आजको बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि गत असोज ४ गते पाँचौँ तथा वर्षे अधिवेशन अन्त्य भएको थियो ।