राष्ट्रिय परिचयपत्र नागरिक एपमा उपलब्ध हुन थाल्यो

सहयात्रा टिभी

काठमाडौं । माघ ९, नागरिक एपमा राष्ट्रिय परिचयपत्र उपलब्ध हुन थालेको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि हिजोदेखि परिचयपत्र एपमा राखेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशकले जानकारी दिनुभएको छ।

अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र नागरिक एपमा हेर्न सकिने उहाँले बताउनुभयो ।

नागरिक एपभित्र नेशनल आईडी अप्शनमा गएर त्यहाँ आफ्नो परियचपत्र नम्बर राखेपछि सम्बन्धित नागरिकको परिचयपत्र देखापर्छ । हिजोमात्रै एक हजार जनाभन्दा धेरैले नम्बर राखेर राष्ट्रिय परिचयपत्र हेरेका छन् ।

अहिले झन्डै ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन् । यस्तै राष्ट्रिय परिचयपत्रका लागि एक करोड ६५ लाख जनाले आवेदन दिएकामा एक करोड ६१ लाख जनाले नम्बर प्राप्त गरेका छन् ।

नम्बर पाइसकेका नागरिकले छापिएर आएको राष्ट्रिय परिचयपत्र भौतिक रूपमा नलिइकन राहदानी, टेलिकमको सिम, बैंक खातालगायत सरकारले दिने डिजिटल सेवा लिन सक्नेछन् ।

निर्देशक सेढाईका अनुसार अहिलेसम्म राहदानी, निवृत्तिभरण तथा सामाजिक सुरक्षा भत्ता वितरण एवम् नयाँ बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र प्रयोग भइसकेको छ ।

बागमती प्रदेशमा चालक अनुमतिपत्र लिँदा पनि राष्ट्रिय परिचयपत्रसँग त्यसलाई आबद्ध गर्नुपर्ने नियम लागू भइसकेको छ ।

प्रकाशित : 22 January, 2025

प्रतिक्रिया दिनुहोस्