ताप्लेजुङका साथै मेची राजमार्गमा यातायात ठप्प

काठमाडौं । माघ १५, ताप्लेजुङमा मंगलबार पहिचानवादीहरुले बन्द आह्वान गरेका छन् । मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले जिल्लामा यातायात बन्दको आह्वान गरेको हो ।
बन्दका कारण निजी तथा सार्वजनिक सवारीसाधन ठप्प रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए । ताप्लेजुङ भित्रने र बाहिरिनेसहित जिल्लामा यातायातका साधन नचलेको उनले बताए । एम्बुलेन्ससहित आकस्मिक सेवाका सवारीसाधनमा भने अवरोध नरहेको उनले जानकारी दिए । उनका अनुसार, व्यापार–व्यवसाय, कार्यालय भने खुला छन् ।
संघर्ष समितिले आज (माघ १५)देखि अश्चितकालीन मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू र ताप्लेजुङभित्र यातायात बन्दको आह्वान गरेको छ ।
पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच गएको शनिबार झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका दुईसहित तीन प्रदर्शनकारीको उपचार जारी छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । झडपमा केही प्रहरी पनि घाइते भएका थिए ।