डीएलएद्धारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ

सहयात्रा टिभी

काठमाडौँ । फागुन २०, नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रीय कार्यसमिति निर्वाचनको नामवलीमाथि उजुरी परेपछि नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ ।

उच्च अदालत बार एशोसिएशनले काठमाडौं अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको हो ।

निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक भएको थियो । उक्त नामवलीमा सोमबारसम्म दाबी विरोधको समय तोकिएको थियो ।

उच्चले काठमाडौं जिल्ला बारले बार काउन्सिलको नवीकरण नगरेको भन्दै उजुरी गरेपछि जिल्ला बार काठमाडौंले पनि नीतिगत रुपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो ।

डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) का अध्यक्ष सुशीलराज पौडेलले बार काउन्सिल अद्यावधिक गरे/नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रुपमा काठमाडौं बारको मात्रै छानबिन गर्न लागेकोले विरोधमा उत्रिएको बताए ।

नेपाल बारको केन्द्रीय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको मतदाता नामावली निर्वाचन समितिले एकतर्फी रुपमा काठमाडौं जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको आरोप समेत लगाए ।

नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली कायम गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ ।

प्रकाशित : 4 March, 2025

प्रतिक्रिया दिनुहोस्