सामाजिक सञ्जाल एक्समाथि ठूलो साइबर आक्रमण, २४ घण्टामा चार पटकसम्म डाउन

काठमाडौँ । फागुन २७, सामाजिक सञ्जाल प्लेटफर्म एक्समाथि साइबर आक्रमण भएको छ।
सोमबार एक्समाथि ‘ठूलो साइबर आक्रमण’ भएको अर्बपति व्यवसायी एवं एक्सका मालिक एलन मस्कले दाबी गरेका छन्।
अमेरिका र बेलायत लगायत विश्वका धेरै भागहरूमा सेवा अवरुद्ध भएको गुनासो आएपछि मस्कले यस्तो बताएका हुन्।
मस्कले भविष्यमा पनि आक्रमण जारी रहन सक्ने समेत आकलन गरेका छन्।
‘हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोत साधन प्रयोग गरेर गरिएको थियो’, मस्कले एक्समा एक पोस्ट गर्दै लेखे, ‘यसमा ठूलो समूह वा देश संलग्न छ।’
डाउनडिटेक्टरले सोमबार प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याहरूको बारेमा अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौं गुनासोहरू प्राप्त भएको बताएपछि मस्कको यो बयान आएको हो।
सोमबारको आउटेजको समयमा, धेरै प्रयोगकर्ताहरूले प्लेटफर्म पहुँच गर्ने र यसको एप र डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा लोडिङ आइकन देखिरहेका थिए।
एक्स एकै दिन चारपटकसम्म डाउन भएको छ । डाउन डिटेक्टर वेबसाइटमा कयौं प्रयोगकर्ताले सोमबार एक्स डाउन भएको जानकारी गराएका थिए ।
वेबसाइट र अनलाइन सर्भिसको समस्यालाई रियल टाइममा ट्र्याक गर्ने उक्त वेबसाइटका अनुसार सोमबार पहिलो पटक दिउँसो साढे ३ बजे आसपास आधा घण्टासम्म र दोस्रो पटक साँझ ७ बजे आसपास एक घण्टासम्म एक्स डाउन भएको थियो । तेस्रोपटक राति पौने नौ बजेदेखि करिब साढे १० बजेसम्म र राति १२ बजेदेखि करिब साढे १२ बजेसम्म पनि एक्स डाउन भयो ।